अष्ट्रियाको खाना महोत्सवमा नेपालको सेलरोटी र अचार
एजेन्सी २२ मे, अष्ट्रिया । विश्वमा बालबालिकाहरुको लागि क्रियाशील च्यारिटी संस्थाहरुको सहयोगार्थ अष्ट्रियाको भियनास्थित राष्ट्रसंघीय कार्यालयमा खाना महोत्वको आयोजना गरिएको छ । उक्त खाना महोत्सवमा नेपालले समेत सहभागिता जनाएको छ । नेपालको तर्फबाट खाना महोत्सवमा सेलरोटी र अचार लगायतका नेपाली परिकार राखिएको थियो ।
राष्ट्रसंघीय कार्यालय तथा भियनास्थित स्थायी नियोगहरुमा कार्यरत महिला कर्मचारी तथा कुटनीतिज्ञ परिवारका महिला सदस्यहरुको सामूहिक संस्था युनाइटेड नेसन्स वुमन्स गिल्ड भियनाले भियनास्थित राष्ट्रसंघीय कार्यालय रहेको भियना इन्टरनेसनल सेन्टरमा ‘अन्तराष्ट्रिय च्यारिटी लन्चियोन’ नामबाट खाना महोत्सवको आयोजना गरेको हो ।
उक्त महोत्सवमा वुमन्स गिल्डमा आबद्ध विश्वका अधिकांस देशका महिला सदस्यहरुले आ(आफ्नो देशका खानाहरु तयार गरेर प्रदर्शनीमा राखेका थिए । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग भियनामा कार्यरत कुटनीतिक कर्मचारीका महिला परिवार तथा राष्ट्रसंघ कार्यालयमा कार्यरत नेपाली कर्मचारीका महिला परिवारले संयुक्त रुपमा नेपाली परिकारहरु तयार पारी खाना महोत्सवमा सहभागिता जनाइएका हुन् ।
नेपाली सेलरोटीको परिकारले खाना महोत्सव अवलोकन गर्न आउनेहरुको ध्यान खिचेको पाइन्थ्यो । खाना महोत्सवको अवलोकन गर्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीले खाना महोत्सवमा नेपाली परिकारको प्रवर्द्धन गर्नुका साथै विश्वका बालबालिकाको हितमासमेत काम गरेकोमा धन्यवाद ज्ञापन गरे ।
साथै उनले यस्ता कार्यहरुमा स्थायी नियोगको सधै साथ रहने पनि बताए । खाना महोत्सवबाट उठेको रकम युएन वुमन्स गिल्डले बालबालिकाको शिक्षा, स्वच्छ पानी, आवास तथा स्वास्थ्योपचारको क्षेत्रमा क्रियाशील विश्वका विभिन्न च्यारिटी संस्थाहरुलाई प्रदान गर्ने गरेको छ ।