विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउने प्रस्ताव
काठमाडौं, ८ जेठ । सरकारले विराटनगर र वीरगञ्जलाई महानगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव अघि सारेको छ । साथै तराई मधेसका १९ जिल्लामा कम्तिमा १५ स्थानीय तह थप्ने तयारी छ । मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउन माग गरेपछि सरकारले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदल बनाएको छ । कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर आफ्नो प्रतिवेदन तयार पारेको छ ।
कार्यदलले अहिले उपमहानगर रहेको विराटनगर र वीरगञ्जलाई महानगरमा स्तरोन्नतीको प्रस्ताव गरेको छ । कार्यदलका एक सदस्यले भने, ‘विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउँदा उपयुक्त हुन्छ भन्ने हामीले निष्कर्ष निकालेका छौं ।’
यसका आसपासका केही गाउँपालिकाका केही वडालाई गाभ्ने कार्यदलको प्रस्ताव छ । स्थानीय तह बन्नु अघि काठमाडौं मात्र महानगर थियो । तर, स्थानीय तह पुनर्संरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगर छन् । विराटनगर र वीरगन्ज थपिए महानगरपालिकाको संख्या ६ पुग्नेछ ।