धुलिखेलको मेयरमा एमालेका अशोक ब्यान्जु निर्वाचित
धुलिखेल, ७ जेठ । काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेल नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयरसहित वहुमत वडामा बर्चश्व कायम गरेको छ । आइतबार बिहान सम्पन्न भएको मतगणनामा एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्यान्जु ७९८१ मत प्राप्त गरी धुलिखेलको मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश हुमागाईले ५९०८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेकै विमला शर्मा ६७२३ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले ४९४० मत प्राप्त गरेकी छन् ।
धुलिखेल नगरपालिकाको मतगणना सम्पन्न भएसँगै काभ्रेपलाञ्चोकका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेमा पाँचखालबाहेक सबै नगरपालिका एमालेले जितेको छ । पाँचखालको मेयरमा पनि कांग्रेसका महेश खरेल विजयी भएका छन् । उनी कांग्रेसका पुराना नेता राजेन्द्र खरेलका छोरा हुन् ।
बनेपा नगरपालिकामा इतिहासमै पहिलो पटक एमालेले विजय हासिल गर्दा लक्ष्मीनरसिंह बादे श्रेष्ठ मेयरमा निर्वाचित भए । त्यस्तै मण्डन देउपुर नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष टोकवहादुर वाइबा निर्वाचित भएका छन् । पनौती नगरपालिकामा एमालेकै पूर्व जिल्ला उपाध्यक्ष भीम न्यौपाने निर्वाचित भएका छन् भने नमोबुद्ध नगरपालिकामा एमालेका टिपी शर्मा तिमल्सिना विजयी भएका छन् । काभ्रेको भुम्लु सल्ले र खानीखोल गाउँपालिका पनि एमालेले जितेको छ ।
५ नगरपपालिका र २ गाउँपालिका जितेर एमाले काभ्रे जिल्लाको सबैभन्दा ठूलो र वहुमतप्राप्त दल बन्न सफल भएको छ । नेपाली कांग्रेसले एक नगरपालिका र ३ गाउँपालिकामा जित निकालेको छ । कांग्रेसले जितेका गाउँपालिकामा बेथानचोक, तेमाल र खानीखोला छन् । माओवादी केन्द्रले दुई गाउँपालिका मात्र जितेको छ । माओवादीले जितेका गाउँपालिकामा महाभारत र चौंरीदेउराली हुन् ।