पोखरा–लेखनाथ महानगरमा लफडा, मतगणना स्थगित
पोखरा ६ जेठ । पोखरा–लेखनाथ महानगरपालिकामा लफडा भएको छ । फर्जी मत भेटिएको भन्दै लफडा भएको हो । महानगरको १७ नम्बर वडाको गणना गर्दा फर्जी मत भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको छ । सूर्य चिन्हमा स्वस्तिक छाप ठूलो आकारको भेटिएको माओवादी–काँग्रेस गठबन्धनले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।
यसअघि भरतपुर महानगरपालिकामा पनि विवाद हुँदा शुक्रबार बेलुकादेखि स्थगित मतगणना संयन्त्रको १० बुँदे सहमति पनि पुनः थालिएको थियो । पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीले अग्रता लिँदै आएका छन् । जिसीले पछिल्लो गणनाअनुसार २० हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका रामजी कुवँरले १८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।
मेयर पदमा राप्रपाकी गीता गुरूङले ७५१ मत पाएकी छन् भने नयाँ शक्तिका हुमबहादुर तमु अहिलेसम्म १२८३ मत आएको छ ।
पोखरा–लेखनाथ र भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा उम्मेदवारी दिएका हुन् । पोखरामा माओवादीले मेयर छाडेको थियो भने भरतपुरमा काँगेसले मेयर पद छाडेर संयुक्त उम्मेदवारी दिएका हुन् ।