चाँगुनारायणमा विवाद चर्किदै, २२ मत निर्वाचन अधिकृतको सहिविहीन
भक्तपुर ६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ। नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन।
बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ। जसमा नेमकिपाको ११५ र नेपाली काँग्रेसको १९४ मत मतगणनामा बसेका स्थानीय कर्मचारीले एमालेकोमा राखेको आरोप रहेको छ ।
वडा नं– ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ। मध्यान्हसम्म पटक पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ। अहिले भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको सर्वदलिय बैठक बस्ने तयारी भैरहेको छ । उक्त वडाको मतपरिणाम विहानै आईसकेको थियो ।
उक्त वडामा २२ वटा मत मतदान अधिकृतको सहि नै नभएको भेटिएको स्थानीय मतदाताले बताएका छन् । अहिले मतगणनास्थलमा नारावाजी गरिरहेका काँग्रेस र नेमकिपाका नेता तथा कार्यकर्ताले उक्त वडाको मतगणना फेरी हुनुपर्ने आवाज उठाईरहेका छन् ।