रुकुमका ६ वटै स्थानीय तहमा माओवादी केन्द्र विजयी
रुकुम ४ जेठ । आठविसकोट नगरपालिकाको अन्तिम मत परिणाम आएसँगै नेकपा माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका ६ वटै स्थानीय तहमा विजय हासिल गरेको छ । यसअघि दुईवटा नगरपालिका र ३ गाउँपालिका जितेको माओवादीले आठविसकोट नगरपालिकामा जितेसँगै जिल्लामा माओवादीले जितेको स्थानीय तहको संख्या ६ पुगेको हो ।
अन्तिम मत परिणामअनुसार आठविसकोट नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रको तर्फबाट प्रमुखको उम्मेदवार गोर्खबहादुर केसीले नेपाली कांग्रेसका धीरेन्द्र बटाला र माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार गीता नेपालीले कांग्रेसकी अनिता बुढालाई पराजित गरिन् ।
माओवादी केन्द्रका केसीले कांग्रेसका बटालालाई २ हजार ३४ मतले पछि पारे । केसीको ५ हजार ६ सय २९ मत आएको छ भने बटालाले ३ हजार ५ सय ९५ मत ल्याएका छन् । यसैगरी उपप्रमुखमा विजयी माओवादी केन्द्रकी नेपालीले कांग्रेसकी बुढालाई २ हजार ४ सय ३१ मतले पछि पारिन् । नेपालीको ५ हजार ६ सय १८। आएको छ भने बुढाले ३ हजार १ सय ८७ मत ल्याएकी छिन् । नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत ल्याएका छन् भने उपप्रमुख अमृता शाहको पक्षमा २ हजार ७ सय ८६ मत आएको छ ।
१४ वडा रहेको आठविसकोटमा ११ वडामा माओवादी केन्द्रको पूरै प्यानल विजयी बनेको छ । त्यसैगरी नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ वडामा जित हात पारेका छन् । नेपाली कांग्रेसले ७ र ९, नेकपा एमालेले १३ नम्बर वडामा प्यानलै जितेका छन् भने अन्य सबै वडामा नेकपा माओवादी केन्द्रले प्यानलसहित जितेको छ । पहिलो चरणमा निर्वाचन भएका ६ स्थानीय तहका ७३ वडामध्ये ५८ वडा माओवादी केन्द्रले जितेको छ भने १३ नेपाली कांग्रेसले र २ वडा नेकपा एमालेले जितेको छ ।