उपत्यकामा धेरै क्रस मत बदर

भक्तपुर न्यूज

३ जेठ २०७४ १०:४०

उपत्यकामा धेरै क्रस मत बदर

कमल न्यौपाने
भक्तपुर, ३ जेठ । मतदाता शिक्षाको कमी र चुनावी तालमेलबारे दलहरूले आफ्ना कार्यकर्तालाई बुझाउन नसक्दा स्थानीय तह निर्वाचनमा उपत्यकामा ठूलो संख्यामा मत बदर भएका छन् । एउटै पदमा उठेका दुईभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएका, दुई लहरमा पूरै छाप लगाइएका, एउटै चुनावचिह्नमा धेरैपटक छाप लगाइएका थुप्रै मतपत्र भेटिएको मतगणनामा सहभागी अधिकारीहरू बताउँछन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाबारे मतदातालाई जानकारी नगराउँदा र दलहरूले तालमेलबारे मतदातालाई सम्झाउन नसक्दा ठूलो संख्यामा मत बदर भएको जानकारहरू बताउँछन् । ‘मतदाता शिक्षा नपुगेको त हो नै, साथै दलहरूले चुनावी तालमेलबारे आफ्ना मतदातालाई सम्झाउन नसक्दा मत बदरको संख्या बढेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल बताउँछन् ।

भक्तपुरका तीनवटै नगरपालिकामा मात्रै नभई काठमाडौं महानगरपालिकाका मंगलबार रातिसम्मको गणनामा मत पूरै बदर भएको पाइएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार दुई दिनको करिब १५ सय मतगणनामा ६ सयभन्दा बढी मत कुनै न कुनै रूपमा बदर भएका छन् जसमा मेयर पदमा २ सय ६२, उपमेयर पदमा ३ सय २० र वडा नम्बर १ मा वडाध्यक्षमा ४० मत बदर भएका हुन् ।

‘एक ठाउँमा संकेत गर्नुपर्नेमा मतदाताले दुई ठाउँमा मत संकेत गरेको भेटिएको छ । ललितपुर लगायतका विभिन्न स्थानमा  उम्मेदवार नउठेका पदमा पनि मतछाप लगाइएको मतपत्र गणनाका क्रममा भेटिएको छ । रोचक पक्ष त ग्रामीण क्षेत्रभन्दा राजधानीकै उपत्यकामा बदर मतको संख्या ठूलो छ ।

सबैभन्दा बढी एमाले र राप्रपाको मत बदर भएको मतगणनामा बसेकाहरु बताउँछन् । ललितपुर महानगरपालिकामा भने काठमाडौंमा भएभन्दा फरक ढंगबाट मत बदर भएका छन् एमाले र राप्रपाबीच तालमेल भएकोमा लस्करै सूर्यलाई मत हालेर पनि गाईलाई समेत भोट हालेका कारण धेरै मत बदर भएको भेटिएको छ ।

‘एकै ठाउँमा चुनावचिह्न भएको ठाउँमा आठ छाप छ जब कि एक मतदाताले ७ जना उम्मेदवारलाई ७ छाप मात्र लगाए पुग्छ । वृद्धवृद्धाले धेरै मत बदर गरेको अनुमान सहजै लगाउन सकिन्छ । उनीहरूले एउटै चुनावचिह्नमा लगातार छाप हानेर चिनेजानेका उम्मेदवारलाई पनि जितून् भनी थप छाप लगाएका छन् ।

‘केही मतमा दुई लहरमा पूरै छाप लगाइएका मतपत्र भेटिएर बदर गर्नुपरेको छ । पार्टी र व्यक्ति छानेर भोट हाल्दा पनि बदर भएका छन् । ठूलो मतपत्र, दुई भागमा चुनावचिह्नका कारण मत संकेत तलमाथि र दायाँबायाँ गर्ने क्रममा अधिकांश मत बदर भएको मतगणनामा सहभागीहरू बताउँछन् । केही स्थानमा मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिबीच सानोसानो विवादले पनि समय धेरै लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *