भक्तपुरमा एउटा मतपत्र मतगणना गर्न तीन मिनेट
भक्तपुर, २ जेठ । भक्तपुरमा स्थानीय तह निर्वाचनको पूर्ण मतपरिणाम आउन तीन दिन लाग्ने भएको छ । मतगणना सोमबारबाट सुरु गरिएको छ । एउटै मतपत्रको मतगणना गर्न दुईदेखि तीन मिनेट समय लाग्ने भएपछि परिणाम ढिलो आउने जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
मतपत्रमा धेरै चुनाव चिह्न भएका कारण मतगणना गर्न ढिलो भएको भक्तपुर जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा पहिलो चुनाव चिह्न प्रमुख, दोस्रो उपप्रमुख, तेस्रो वडाध्यक्ष, चौथो खुला महिला सदस्य, पाँचौं दलित महिला सदस्य, छैटौँ र सातौँ क्रमशः खुला सदस्य पदका लागि मतदाताले मतदान गरेका छन् ।
यो क्रमबद्धता नबुझी मतदाताले मतदान गरेकाले मतगणना गर्न असज र समय लाग्ने भएको हो । आइतबार भएको स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा २८ हजार ३८४, भक्तपुरमा ४४ हजार २७५, मध्यपुर थिमिमा २९ हजार २८२ र सूर्यविनायक नगरपालिकामा ३० हजार ९१३ मत खसेको थियो कुल मतको ८२ प्रतिशत मत खसेको राईले बताउनुभयो । भक्तपुरमा चारवटा नगरपालिकामा ३८ वटा वडा छन् ।
आज बिहानसम्मको नतिजालाई हेर्दा भक्तपुरको वडा नं १ मा नेमकिपाले जितेको छ । भने अन्य वडाको मत गणना जारी नै छ । यस्तै सूर्यविनयाक नगरपालिकामा एमाले र मध्यपुर थिमीमा काँग्रेस अग्रस्थानमा रहेका छन् । चाँगुनारायणमा भने मतगणना स्थगीत भएको छ ।