सूर्यविनायकमा एमाले, मध्यपुरमा काँग्रेसको अग्रता
भक्तपुर १ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले अग्र स्थानमा देखिएको छ । मध्यपुरमा काँग्रेस अगाडी देखिएको छ भने भक्तपुर नगरमा मतगणना जारी रहेपनि अहिलेसम्म कति मत खस्यो सार्वजनिक भएको छैन् । यस्तै चाँगुनारायणमा अझै मतगणना हुन सकेको छैन् । नवलपरासीको मत चाँगुनारायणमा आएको र मतदान भएको भन्दै नेपाल मजदुर किसान पार्टीले उक्त मत बदर गर्न माग गरेपछि विवाद बढ्दो निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सहमतिको प्रयास जारी रहेको छ । उक्त मतमा मादल चिन्ह थिएन् । नवलपरासीका २२ मत खसेका थिए । भक्तपुरका चारवटै मतगणनास्थलमा राजनीतिक दलका नेता, कार्यकर्ता तथा मतदाताको बाक्लो भिड देखिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सूर्यविनायक नगरपालिकामा अहिलेसम्म खसेको जम्मा मतमा एमालेका १ सय ४९ मतमा नेपाली कांग्रेसको १ सय २८ मत आएको छ । यसैगरी उपप्रमुखमा काँग्रेसको १ सय ८ र उपप्रमुखमा नेमकिपाको १ सय ५९ मत रहेको छ । राप्रपाको मेयरको ६० र उपमेयरको ७३ मत आएको छ । माओवादी केन्द्रको मेयरको ११ मत आएको छ ।
स्थानीय चुनावमा उत्साहपूर्वक सहभागी भएर भोट हालेका सर्वसाधारण मतदाता अब मत परिणाम कतिखेर आउला भनेर व्यग्र प्रतीक्षामा छन् । तर, मतगणनाको ताल हेर्दा चाँडै परिणाम आउला जस्तो छैन ।धेरै ठाउँमा अझैसम्म गणना सुरु भएको छैन भने सुरु भएका ठाउँहरुमा पनि कछुवा गतिमा गणना भइरहेको छ । नगर हाँक्ने मेयरदेखि आफ्नो क्षेत्रको वडा तहमा कुन पार्टी र व्यक्ति अगाडि आयो भनेर चासो राख्नेहरु धेरै छन् । भक्तपुरका चारवटै नगरमा मतपरिणामबारे अझ धेरैको चासो छ ।
निर्वाचन आयोगले सबैतिरको मतगणना गरी अन्तिम परिणाम आउन चार दिन लाग्ने जनाएको छ । तर, भक्तपुरमा मतगणनाको सुस्त तयारी र अहिलेको गति हेर्दा यो समय अझै लम्बिने संकेत देखिएको छ ।
