निर्वाचन अधिकृत झुन्डिएको अवस्थामा भेटिए, उपचारका लागि काठमाडौं ल्याइयो

भक्तपुर न्यूज

१९ वैशाख २०७४ ७:०३

काठमाडौ, १९ बैशाख । रसुवा जिल्लाको कालिका गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत सन्तोष गिरी झुन्डिएको अवस्थामा फेला परेका छन् । मंगलबार बिहान खादाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत गिरीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । मंगलबार बिहान सवा ४ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँगै भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकालेका थिए ।

उनलार्इ तत्कालै नुवाकोट अस्पतालमा पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौँ पठाइएको डीएसपी प्रसाईंले बताए ।  प्रसाईंका अनुसार नाडीको चाप चले पनि उनको होस खुलेको छैन ।

स्वास प्रश्वास सञ्चालनमा कठिनाई भएकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल विदुरका डा। मनोज रिमालले जानकारी दिए । कालिका गाउपालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठका अनुसार निर्वाचनका लागि खटिएका कर्मचारीसंग जिससको गेष्टहाउसमा बसेका गिरीलाई मंगलबार बिहान प्यासेजमा झुण्डिएको समयमा स्वास फेर्न गाह्रो भएर कराएको सुनिएपछि उद्धार गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय रसुवाका नासु नारायण घिमिरेका अनुसार स्थानीयतहको निर्वाचनका लागि आज हुने उम्मेदवारी दर्ताको पूर्वतयारी गरी उनी सोमबार बेलुका १० बजेतिर सुतेका थिए । गिरी बेपत्ता छानविन आयोगमा कार्यरत उपन्यायाधिवक्ता हुन् । स्थानीय तहको निर्वाचनका लागि कालिका गाउँपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारी लिएर गत साता रसुवा आएका थिए ।

मंगलबार हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *