घुम्ती हुलाक सेवाको शुरुवात

भक्तपुर न्यूज

१५ वैशाख २०७४ १०:०१

काठमाडौँ, १५ वैशाख । गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ । कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पु¥याउने मुख्य योजनाका साथ आजदेखि सो सेवाको सुरुवात गरेको हो ।

सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गरेका छन् । कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको उनले बताए ।
मन्त्री कार्कीले घुम्ती सेवालाई काठमाडौँ उपत्यकामा मात्र नभएर देशभर पु¥याउनुपर्नेमा जोड दिए । उनले चिठीपत्रमा लेखिने कुरा सामाजिक सञ्जालमा लेख्न नसकिने बताउँदै हुलाकको महत्व यथावत् रहेको उल्लेख गरेका छन् । आजदेखि सुरु भएको सेवाअन्तर्गत तीनवटा बसले सेवा दिने कार्यालयले जनाएको छ ।

रुट नं १ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई कर्मचारी सञ्चय कोष ठमेल, राहदानी विभाग, खानी विभाग, राजस्व विभाग, बाँसबारी इलाका हुलाक, बालुवाटार हुलाक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, पोष्टल प्लाजा डिल्लीबजार, अध्यागमन विभाग, लोकसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत हुँदै गोश्वारा हुलाकको क्षेत्रमा सेवा दिनेछ ।

रुट नं २ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई जिल्ला हुलाक कार्यालय ललितपुर, ललितपुर महानगरपालिका हरिहरभवन, स्टाफ कलेज जावलाखेल, पाटन औद्योगिक क्षेत्र, हरिहर भवन युनिट, त्रिपुरेश्वर क्षेत्रमा सेवा दिनेछ भने रुट नं ३ बबरमहल, बानेश्वर, कोटेश्वर, ठिमी, जिल्ला हुलाक कार्यालय भक्तपुरमा सेवा दिनेछ । घुम्ती शिविरको समयमा आफ्नो चिठीपत्र बाटोबाटै पाउने व्यवस्थासमेत कार्यालयले मिलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *