संसद भवनभित्रै झडप हुँदा १० जना घाइते

भक्तपुर न्यूज

१५ वैशाख २०७४ ८:३२

संसद भवनभित्रै झडप हुँदा १० जना घाइते

एजेन्सी, १५ बैशाख । एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि मेसेडोनियाको संसदमा झडप भएको बीबीसीले जनाएको छ । उक्त झडपमा १० जना घाइते भएका छन । घाइते हुनेमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेताहरु छन् ।
प्रदर्शनकारीहरु पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु थिए जसले नयाँ चुनावको माग गरिरहेका छन् ।
सामाजिक सञ्जालमा सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायफको अनुहारबाट रगत झरिरहेको तस्वीर राखिएका छन् । उक्त पूर्व युगोस्लाभ गणतन्त्रमा गएको डिसेम्बरमा भएको आमचुनावको परिणाम अनिर्णित भएपछि राजनीतिक गतिरोध कायम रहेको छ ।
तर दुई वर्षअघिको फोन ट्यापिङ विवाद यता त्यहां संकट निरन्तर कायम छ । समाजवादी नेता जायफले अल्बेनियाली जातीय पार्टीसँग मिलेर गठबन्धन बनाएका छन् तर सरकार बनाउने उनको प्रयासलाई देशका राष्ट्रपतिले रोकिदिएका थिए । उक्त गठबन्धन बनाउने प्रयास भए यता नै मेसेडोनियाका आफूलाई राष्ट्रवादी बताउनेहरुले प्रदर्शन गरिरहेका छन् । गठबन्धनले तालर जाफेरीलाई सभामुख बनाउने निर्णय गरेपछि आक्रोशित व्यक्तिहरुको समूह संसद भवनमा प्रवेश गरेको थियो । झण्डै २ सय जना प्रदर्शनकारीले अनुहार ढाक्ने मास्क लगाएका थिए र प्रत्यक्षदर्शीहरुले फुटेका सिसा भुईँमा देखेको र हलभित्र रगतका दागहरु पनि देखिएको उल्लेख गरेका छन्। प्रहरीले गैरघातक किसिमको ग्रिनेड प्रहार गरी नेताहरुलाई संसद भवनबाट बाहिर निकालेको थियो । अमेरिका, उत्तर एटलान्टिक सन्धि संगठन नेटो र युरोपेली युनियनका उच्च अधिकारीहरुले संसदमा भएको उक्त हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *