रातको समयमा पखालिँदै काठमाडौँका सडक

भक्तपुर न्यूज

१३ वैशाख २०७४ ५:५६

रातको समयमा पखालिँदै काठमाडौँका सडक

काठमाडौं, १३ बैशाख । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्न सुरु गरेको छ । सोमबारदेखि कामनपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्न यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिए ।
सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नैपर्छ, कार्यकारी अधिकृत पौडेलले भने, सडक पखाल्ने काम थालेका छौँ, यसको प्रभाव हेरेर नागरिक जीवनको सहजताका लागि अन्य काम गर्छौँ ।
काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको र यस कामलाई निरन्तरता दिने प्रमुख पौडेलको भनाइ छ ।
धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो । मङ्गलबार राति भने कामपाले दमकल र ट्याङ्करको सहायताले पुतलीसडक क्षेत्रको सडक सफा बनाएको छ ।
यसरी धुलो कम गर्न सके नागरिकले राहत पाउने कामपाले विश्वास लिएको छ । धुँवाधुलोले सहरी जीवनलाई सकसपूर्ण बनाएको छ ।
काम थालेको पहिलो दिन पुतलीसडक कमलादी मोडबाट शङ्करदेव क्याम्पस प्रवेश गर्ने चोकसम्मको सडकको बीच भाग, पैदल मार्ग र छेउछाउमा भएका, बार, बिजुलीका पोलमा रहेको धुलो पखालिएको थियो । दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *