ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एकहजार सवारी कारबाहीमा
काठमाडौं, २५ चैत । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजार भन्दा बढी सवारी साधन कारबाहीमा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादक पदार्थ सेवन, बिनालाइसेन्स सवारी चलाउने लगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको बताए । उनले लेन अनुशासन, मापसे, लाइसेन्स जाँच, जथाभावी सवारी पार्किङ लगायत कामलाई कडाइका साथ जाँच गरेपछि दुर्घटनामा केही कमी आएको बताए । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्था अनुसार पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवानाका साथै एक घन्टा ट्राफिक जनचेतना कक्षा लिने गरेको छ ।
लेन काटेको सवारीसाधन भाग्न खोजे विभिन्न क्यामराका माध्यमबाट फोटो खिच्ने र कारबाहीको दायरामा ल्याउने गरेको छ ।