आँखा चिन्ह नपाएरसम्म नयाँ शक्तिको प्रदर्शन जारी
भक्तपुर, २१ चैत । नयाँ शक्ति पार्टी नेपालले आज भक्तपुरजिल्ला निर्वाचन कार्यालय अगाडि टाउकोमा कालो पट्टी बाँधेर धर्ना दिएका छन् ।
नयाँ शक्ति पार्टीले दलीय चुनाव चिन्ह पाउनबाट बञ्चीत भएकाले सबै जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिने क्रममा भक्तपुरमा पनि धर्ना दिएका हुन् ।
आज बिहान ९ बजेदेखि ११ बजेर १५ मिनेटसम्म सल्लाघारीस्थित भक्तपुरजिल्ला निर्वाचन कार्यालयमा नयाँ शक्तिका जिल्ला संयोजक ओम प्रसाद वाग्लेको नेतृत्वमा करीव ३५ जना कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।
निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गर्दै हाल संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्र चुनाव चिन्ह दिने कानूनी व्यवस्था सरकारले गरेकोले बिरोध स्वरुप निर्वाचन कार्यालय अगाडि प्रदर्शन गर्दै आफ्नो पार्टीलाई आँखा चिन्ह नदिए आफूहरुले चुनाव हुन नदिने संयोजक वाग्लेले बताए ।