आमाको निधनपछि नाबालिकालाई सहयोग
काठमाडौं, १३ चैत । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका ताप्लेजुङ थेचम्बुका युवाहरूले एक मृगौलारोगीको उपचारार्थ संकलन गरेको रकम पीडितको मृत्यु भएपछि छोरीलाई हस्तान्तरण गरिएको छ ।
ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले पठाएको २ लाख रुपैयाँ राजधानीमा आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मृतक २९ वर्षीया सुमिरा लिम्बूकी छोरी अढाई वर्षीया मुमिन लिम्बूलाई हस्तान्तरण गरे । थेचम्बु माइती भई झापामा बिहे गरेकी सुमिराको दुवै मृगौला फेल भएपछि उपचारका क्रममा पुसमा निधन भएको थियो । बिरामीको मृत्यु भएकाले सहयोग रकम उनकी छोरीको शिक्षादीक्षामा टेवा पुगोस् भनेर उपलब्ध गराइएको समाजका अध्यक्ष प्रबल मेन्याङ्बोलाई उद्धृत गर्दै थेचम्बु काबेली सेवा समाज काठमाडौंका सल्लाहकार मंगल मेन्याङ्बोले जानकारी दिए ।
काठमाडौंमा ल्याएर बिरामीको निःशुल्क डायलाइसिस भइरहेको थियो, समाजद्वारा आयोजित कार्यक्रममा सल्लाहकार मेन्याङ्बोले भने, मृगौला प्रत्यारोपणको तयारी पनि हुँदै थियो तर एक्कासि हृदयाघात भएपछि उनको मृत्यु भयो ।
उनका अनुसार मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने छोरी ठूलीआमा निर्मलाको साथमा । मन्त्री गुरुङले यस्ता बिरामीलाई सरकारले विशेष सहयोग गरिरहेको उल्लेख गर्दै सुमिराको निधनप्रति दुःख व्यक्त गरे । वैदेशिक रोजगारीमा रहेका थेचम्बुका युवाको सहयोगले मुमिनको भविष्य निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो । उनले भने, यसमा सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ । जिल्ला÷गाउँवासीलाई सहयोग गर्न सदैव तत्पर छु ।