चिनियाँ रक्षामन्त्री तीनदिने नेपाल भ्रमणमा
काठमाडौं १० चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नेछन्। रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्ने कार्यक्रम रहको छ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नेछन् ।