कार्यकारी प्रमुख तोकिँदै
काठमाडौं, १ चैत । स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा परिचालन गर्ने कार्यकारी प्रमुखको सूची आजै टुंग्याउने गरी गृहकार्य सुरू गरेको छ । मन्त्रालयले पहिलो चरणमा २४६ नगरपालिका र १३ उपमहानगरपालिकामा कार्यकारी प्रमुख खटाउन लागेको हो । त्यसका लागि अहिले मन्त्रलायले उपसचिवहरुलाई नगरपालिका रोजाउने काम शुरु गरेको स्थानीय विकास मन्त्रलाय स्रोतले जनाएको छ । स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास मन्त्रालयलाई ७२ जना उपसचिवको नामावली उपलब्ध गराइसकेको छ ।
स्थानीय विकास मन्त्रालयलाई देशभरका नगरपालिका र उपमहानगरपालिका कार्यान्वयनमा ल्याउन तत्काल २५९ जना उपसचिव आवश्यक छ । मन्त्रालयले साविकको नगरपालिका र उपमहानगरपालिकाको प्रमुखलाई निरन्तरता दिने, सामान्य प्रशासन मन्त्रालयले पठाएको ७२ जनालाई पनि खटाउने र बाँकीलाई अन्यबाट व्यवस्थापन गरिरहेको छ । स्रोतका अनुसार नगरपालिका र उपमहानगरपालिकामा कार्यकारी प्रमुख तोक्ने काम आज सम्पन्न हुनेछ । र भोलि गाउँपालिकाको कार्यकारी प्रमुख तोक्ने मन्त्रालय स्रोतको दावी छ ।