पोखरामा फेरि बर्ड फ्लु भेटियो
पोखरा, २२ फागुन । एक साता नबित्दै पोखरामा पुनः बर्ड फ्लुको संक्रमण भेटिएको छ । पोखरा १८ खाल्टेमसिनामा पुन सोहि वडाको अर्को स्थानमा संक्रमण देखिएको हो । स्थानीय शुभकामना टोलस्थित दीपेन्द्र केसीले पालेको कुखुरामा बर्ड फ्लुको संक्रमण भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ । यसअघि खाल्टेमसिनास्थित मीना परियारको घरमा पालेको हाँसमा संक्रमण भेटिएपछि गत फागुन १४ गते संक्रमित क्षेत्र घोषणा गरी पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।
संक्रमित क्षेत्र आसपासको नमुना परीक्षणका लागि पठाइएकोमा पुनः अर्को स्थानमा बर्ड फ्लुको जिवाणु एचफाइभएनवान पुष्टि भएको हो । संक्रमण भेटिएपछि त्यस आसपासका क्षेत्रमा चारकिल्ला तोकेर पंक्षी र पंक्षीजन्य बस्तु नष्ट गरिएको छ ।
पोखरा नगर क्षेत्र भित्र आगामी १० दिनका लागि पंक्षी र पंक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको छ । आगामी फागुन ३० गतेसम्म पोखरा उपमहानगरपालिकाको वडा नम्बर १ देखि १८ सम्म दाना वाहेक पंक्षी र पंक्षीजन्य वस्तुमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।