पत्रकार श्रीलाल साहको निधन
काठमाडौं २२ फागुन । पत्रकार श्रीलाल साहको क्यान्सर रोगका कारण आइतबार विहान निधन भएको छ। उनी ५९ वर्षका थिए। विहान चारबजेर २० मिनेट जाँदा चाकुपाटस्थित डेरामा निधन भएको थियो। त्यसअघि उनी ललितपुरस्थित नेशनल हस्पिटल क्यान्सर रिसर्च सेन्टरमा दुइ महिनादेखि भर्ना थिए। कान्तिपुर दैनिकको स्थापनासँगै राजविराजस्थित संवाददाताका रुपमा पत्रकारिताको राष्ट्रिय परिदृश्यमा देखिएका साह उक्त दैनिकबाट अलग भएपछि लामो समयदेखि वातावरण पत्रकारका रुपमा सक्रिय रहँदै आएका थिए। उनी सिरहा जिल्लाको हाल लहानका स्थायी वासिन्दा थिए। साह आफू कार्यरत कान्तिपुर पब्किेशन्स विरुद्ध लामो कानुनी लडाइ लडेर पनि चर्चामा आएका थिए।
साह तीन वर्षदेखि क्यान्सरसँग जुध्दै आएका थिए। पहिलोपटक उनी तीन महिना विभिन्न अस्पतालमा उपचार गराउने क्रममा फोक्सोमा क्यान्सर रोग पत्ता लागेको थियो। त्यसपछि एकपटक किमोथेरापी गराइसकेर उनी फेरि सामान्य अवस्थामा काम गर्न थालिसकेका थिए। उनी वातावरण पत्रकार समूहको सदस्यका हैसियतले पछिसम्मै त्यहीँ कार्यरत थिए। समूहको भिडियो पत्रिका ‘आँखीझ्याल’मा दस वर्ष सक्रिय रहे। त्यतिबेला उनले तयार पारेका भिडियो रिपोर्टहरुले अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको समूहका पूर्व अध्यक्ष लक्ष्मण उप्रेती बताउँछन्। विशेष गरेर तराइ क्षेत्रका सामाजिक मुद्दा र सामुदायिक वनसँग सम्वन्धित विषयमा उनले बढी रिपोर्टिङ गरेका थिए।
उनका दुइ छोरा, चार छोरी र श्रीमति छन्। उनको अन्त्येष्टी अहिले दिउँसो साढे तीन बजे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदैछ।
–