आजबाट होली पर्व सुरू

भक्तपुर न्यूज

२२ फागुन २०७३ ७:१५

आजबाट होली पर्व सुरू

काठमाडौं, २२ फागुन । रंगहरुको पर्व होली आजबाट सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो । बिहान ८ बजेर १५ मिनेटको शुभसाईतमा सप्तरंगी चीर ठड्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराई–मधेसका जिल्लाहरुमा फागुन ३० गते होली पर्व परेको छ । सो दिन सरकारले सार्बजनिक विदा दिएको छ ।
भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *