एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते
एजेन्सी, २० फागुन । स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेस ला लिगाअन्तर्गत डेपोर्टिभो ला करुनाविरूद्धको खेलमा टाउकोमा चोट लागेपछि मैदानमै बेहोसीको हालतमा लड्न पुगेका छन्।
एट्लेटिको म्याड्रिडका प्रभावशाली यी स्ट्राइकर ८५ मिनेटमा हावामा भएको बललाई नियन्त्रण गर्न खोज्दा एलेक्स बेर्गान्टिनोससँग नमज्जाले ठोकिन पुगेका थिए। घाइते भएर टोरेसले मैदान छोड्नु अघि नै तीनजना अतिरिक्त खेलाडीलाई मौका दिइसकेकाले एथलेटिकले १० खेलाडीमै खेल्नुपरेको थियो । १–१ ले बराबरी यस खेलमा चोटग्रस्त टोरेसलाई एम्बुलेन्समा हालेर तुरुन्त अस्पताल लगिएको थियो। अस्पतालमा उनको टाउकोको एक्सरे भएको छ। क्लबले हाल उनको स्वास्थ्य अवस्था खतरामुक्त भएको र होसमा आइसकेको बताएको छ।
३२ वर्षीय टोरेसले इङ्लिस क्लब लिभरपुल र चेल्सीबाट पनि खेलिसकेका छन्। एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले खेल सकिएपछि पत्रकार सम्मेलनमा टोरेसको अवस्था दयनीय भएको बताएका थिए। तर पछि क्लबले विज्ञप्ती जारी गर्दै उनको स्वास्थयमा सुधार भएको जनाएको छ।