सुडानका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
एजेन्सी, १९ फागुन । सुडानका राष्ट्रपति ओमर अलबसिरले हिजो नयाँ प्रधानमन्त्रीका रुपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन् । प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुवै पदको जिम्मेवारी सम्हाल्नेगरी उनले सलेहलाई नियुक्त गरेका हुन् ।
सत्तारुढ दल नेसनल कंग्रेस पार्टीका शिर्ष नेताहरुको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले पत्रकारहरुलाई जानकारी दिए । सलेहले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी र राजनीतिक पदहरुमा रहेका काम गरिसक्नु भएको छ । उनले सुडानको राष्ट्रिय सुरक्षा सेवाको प्रमुख, सुरक्षा मामिलामा राष्ट्रपतिका सल्लाहकार, गृहमन्त्री, रक्षामन्त्री लगायतका जिम्मेवारी पुरा गर्नु भएको थियो । उनी सन् २०१३ मा प्रथम उपराष्ट्रपति बनेका हुन् ।
गत बर्षको अक्टोबरमा भएको सुडानको राष्ट्रिय वार्ता सम्मेलनले प्रधानमन्त्री पद सृजना गर्ने निर्णय गरे बमोजिम गत डिसेम्बरमा त्यस पदलाई संविधानमा समावेश गरिएको थियो । सोही संवैधानिक व्यवस्था अनुसारसम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न गत मङ्गलबार सत्तारुढ दल एनसीपी र राष्ट्रपति बासिरले प्रधानमन्त्री चयन गरेका हुन् ।