रोनाल्डोको २ गोलले हारबाट जोगियो म्याड्रिड
एजेन्सी १९ फागुन । क्रिस्टियानो रोनाल्डोले अन्तिम ४ मिनेटमा गरेको दुई गोलको सहयोगले १० खेलाडीमा सिमित रियल म्याड्रिडले लिगको १३ औं स्थानमा रहेको लस पाल्मसविरूद्धको सम्भावित हारलाई टारेको छ।
विहिबार बिहान सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा म्याड्रिड खेल सकिन ४ मिनेट बाँकी रहँदासम्म ३–१ गोलले पछाडि थियो। तर, त्यो अवस्थालाई उल्ट्याउदै रोनाल्डोले ८६ मिनेटमा पेनाल्टीबाट र ८९ मिनेटमा हेडिङबाट गोल गर्दै पाल्मससँग घरेलु मैदानमा सम्भावित पहिलो हारलाई टारे। खेल ३–३ को बराबरीमा टुँगियो। रियल म्याड्रिडले पाल्मसलाई आफ्नो घरेलु मैदानमा कहिल्यै जित्न दिएको छैन्। म्याड्रिडले सान्टियागोमा पाल्मसलाई २८ पल्ट पराजित र ४ खेल बराबरीमा खेलेको थियो।
घरेलु टोलीका लागि प्रभावशाली मिडफिल्डर इस्कोले ८ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लामो समय टिक्न सकेन। स्पेनिस मिडफिल्डर टानाले गोल खाएको २ मिनेट भित्रै पाल्मसका लागि गोल फर्काए। पहिलो हाफको खेल १–१ को बराबरीमा रहेको अवस्थामा बेर्नाबेउमा उपस्थित ६० हजार घरेलु समर्थक त्यतिबेला स्तब्ध भए, जब गारेथ बेल दोस्रो हाफको खेल सुरु भएको २ मिनेटमै दोस्रो पहेँलो कार्ड खाएर मैदानबाट बाहिरिए। उनलाई दिएको रातो कार्डपछि ४३ मिनेट घरेलु टोलीले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो। यसको धेरै हदसम्म फाइदा उठाएको पाल्मसले ९ मिनेट भित्र दुई गोल हानिसकेको थियो।
डिफेन्डर सर्जियो रामोसबाट डिबक्सभित्र चुक हुँदा ५६ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई जोनाथन भियराले गोलमा परिणत गरेका थिए। यस्तै जर्मनी मिडफिल्डर केभिन प्रिन्स बोएटिङले ५९ मिनेटमा अर्को गोल थपेपछि घरेलु टोली आधा घण्टा पाल्मसविरूद्ध पछाडि थियो। तर, आफ्नो स्टार स्ट्राइकर रोनाल्डोले अन्तिम समयमा गरेको दुई गोलका कारण म्याड्रिडको उद्धार भयो। बराबरीको नतिजापछि लिगमा ५६ अंक बटुलेको म्याड्रिड आफ्नो प्रतिद्वन्दी बार्सिलोनाभन्दा एक अंकले पछाडि पर्न पुगेको छ। तर, म्याड्रिडले एक खेल कम खेलेको छ।