रेक्स टिल्लर्सन अमेरिकी विदेश मन्त्री बन्ने निश्चित

भक्तपुर न्यूज

२० माघ २०७३ ९:२२

रेक्स टिल्लर्सन अमेरिकी विदेश मन्त्री बन्ने निश्चित

एजेन्सी, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारमा रेक्स टिल्लर्सन विदेश मन्त्री बन्ने निश्चित भएको छ । टेक्सासका ६४ वर्षका टिल्लर्सनलाई सिनेटको पूर्ण बैठकले विदेश मन्त्रीका लागि स्वीकृत गरेको हो । टिल्लर्सनको पक्षमा ५६ तथा विपक्षमा ४३ मत परेको थियो । राष्ट्रपति ट्रम्पले प्रस्ताव गर्नुभएका टिल्लर्सन एक्सन मोबिलका पूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहन्छ । डेमोक्र्या्टिक पार्टीका सिनेटरले ट्रम्पले शिक्षा तथा वित्त मन्त्रीका लागि प्रस्ताव गरेकाको अनुमोदनका लागि तय भएको मतदान प्रक्रिया बहिष्कार गरेपछि विदेश मन्त्रीका लागि प्रस्तावित टिल्लर्सनको प्रक्रिया अघि बढाइएको हो ।
टिल्लर्सनको रुससँग नजिकको सम्बन्ध रहेको भन्दै संसदीय सुनुवाईको क्रममा उहाँले निकै कठिन प्रश्नको सामना गर्नु परेको थियो । रुससँग टिल्लर्सनको व्यवसायिक सम्बन्ध रहेको र यसले देशको सुरक्षामा खतरा पनि हुन सक्ने भन्दा डेमोक्र्या्टिकसहित केही रिपब्लिकन सिनेटर पनि चिन्ता जनाएका छन् । सुनुवाईको क्रममा टिल्लर्सनले रुससँग सचेत भएर सम्बन्ध राख्नु पर्ने स्वीकार गरेपनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियासहितका देशमा युद्ध अपराध गरेको कुरा भने स्वीकार गर्नुभएको थिएन ।
अमेरिकाको प्रमुख कुटनीतिज्ञका रुपमा टिल्लर्सनले अब रुस, चीनसहित विश्वका सबै देशसँगको अमेरिकी सम्बन्धका विषय सम्हाल्नु हुनेछ । यसअघि कुनै पनि राजनीतिक अनुभव नभएका टिल्लर्सनले जिम्मेवारी राम्रोसँग सम्हाल्नेमा शंका रहेको डेमोक्र्या्टिकको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *