इंग्ल्याण्डसँगको तीन ट्वेन्टी–ट्वेन्टी श्रृँखला भारतले जित्यो
एजेन्सी, २० माघ । इंग्ल्याण्डसँगको तीन ट्वेन्टी–ट्वेन्टी श्रृँखला भारतले जितेको छ । बैंग्लोरमा भएको तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टीमा ७५ रनको जित निकाल्दै घरेलु टोली भारतले श्रृँखला २–१ ले हाफ्नो पक्षमा पारेको हो ।
हिजो भएको खेलमा भारतले प्रस्तुत गरेको दुई सय तीन रनको लक्ष्य पछ्याएको भ्रमण टोली इंग्ल्याण्ड १६ दशमलव ३ ओभरमा एक सय २७ रन बनाउँदा अल आउट भयो । दुई विकेट गुमाउँदा एक सय १९ रन बनाएको इंग्ल्याण्डलाई हराउन भारतका युजवेन्द्र चहल नायक बने । चहलको घातक बलिङका कारण इंग्ल्याण्डले आफ्नो ८ विकेट मात्रै ८ रनमा गुमायो । चहलले चार ओभरमा मात्रै २५ रन दिएर ६ विकेट लिए । भारतका जसप्रीत बुमराहले तीन तथा अमित मिश्राले एक विकेट लिए । इंग्ल्याण्डका जोय रुटले ४२, कप्तान इयान मोर्गनले ४० तथा ज्यासन रोयले ३२ रन बनाए । इंग्ल्याण्डका ६ जना ब्याट्सम्यान शून्य रनमा आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा दुई सय दुई रन बनाएको थियो । भारतका सुरेश रैनाले ६३, महेन्द्र सिंह धोनीले ५६, युवराज सिंहले २७ तथा लोकेश राहुलले २२ रन बनाए । दोस्रो ट्वेन्टी–ट्वेन्टीमा भारत पाँच रनले विजयी भएको थियो। पहिलो खेल भने इंग्ल्याण्डले सात विकेटले जितेको थियो । ट्वेन्टी–ट्वेन्टी श्रृँखला जितेको भारतले यसअघि भएको तीन एक दिवसीय श्रृँखला पनि २–१ ले नै जितेको थियो ।