अबदेखि अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन
काठमाडौं, १९ माघ । अबदेखि अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन पनि दिन सकिने भएको छ । गएको माघ ३ गतेदेखि व्यक्तिगत श्रमस्वीकृति अनलाइनबाटै लिने तयारी गरिएको थियो । तर प्राविधिक समस्याका कारण अरुले पनि दुरुपयोग गर्ने देखिएपछि अन्तिम समयमा अनलाइनबाट श्रमस्वीकृति लिन रद्द गरिएको थियो । प्राविधिक समस्या समाधान गरिएपछि आजदेखि अनलाइनबाटै आवेदन दिन सकिने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिईन् ।
गएको पुस ३ गतेदेखि वैदेशिक रोजगार विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन थालेको हो । म्यानपावर व्यवसायीले भने सुरुवातदेखि नै संस्थागत पूर्व स्वीकृति लिइरहेका थिए । व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अनलाइनबाटै दिन सकिने भएपछि अब कामदारले ताहाचलस्थित श्रमग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ । सबै किसिमका श्रम स्वीकृति अनलाइनबाट सुरु भएपछि श्रम स्वीकृतिको प्रक्रियाका लागि बारम्बार श्रमग्राम पुग्नुपर्ने छैन् ।
अब जुनसुकै ठाउँबाट अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टिकरका लागि मात्रै पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ । श्रमस्वीकृति https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा गएर आवेदन दिन सकिने छ ।