आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले कू गरी शासन हत्याएको दिन
काठमाडौं, १९ माघ । आज माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले कू गरी देशको शासन व्यवस्था हत्याएको दिन हो। आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा समेत लिने गरिन्छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले दोस्रो पटक बर्खास्त गरी मुलुकको सम्पूर्ण सत्ता हातमा लिने घोषणा गर्नु भएको थियो ।
प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्ष भित्र चुनाव गराएर जनप्रतिनिधिलाई शासन सत्तामा फर्काउने भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरेका थिए ।
सत्ता हत्याए पश्चात मुलुकमा राजनीतिक अधिकार, मानव अधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो । शीर्ष नेता तथा कार्यकर्तालाई नजरबन्दमा राखिनुका साथै सञ्चारगृहलाई सैन्य नियन्त्रणमा लिएर सेन्सर सिप लागू गरिएको थियो ।
टेलिभिजन र एफएममा समाचार पढ्न समेत रोक लगाइएको थियो भने ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क समेत विच्छेद गरिएको थियो । राजाको सो कदम नै राजतन्त्र अन्त्यको प्रमुख कारण मानिएको छ ।
राजाको सो कदमपछि क्रमशः सात दल र तत्कालिन माओवादी नजिकिए पछि चर्किएको प्रमुख दलको आन्दोलनले राजा सम्झौता गर्न बाध्य भएका थिए । संसद पुनस्थापना र संविधानसभा निर्वाचन हुदै गणतन्त्र स्थापना भएको थियो ।
माघ १९ यता यो १२ बर्षको अवधिका देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भएका छन् । जनता आफैले संविधान सभाबाट आफ्नोे लागि संविधान जारी गर्न सफल भएका छन् ।