इएफएल फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडलाई
एजेन्सी, १६ फागुन । म्यानचेस्टर युनाइटेडले इएफएल अर्थात लिग कप फुटबलको उपाधि जितेको छ । गएराति घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको फाइनलमा अर्को प्रिमियर लिग क्लब साउथह्यामप्टनलाई ३–२ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।
म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाउन यही सिजन क्लब आएका जाल्टन इब्राहिमोविचको महत्वपूर्ण भूमिका रह्यो । युनाइटेडका लागि इब्राहिमोविचले दुई तथा जेसी लिंगार्डले एक गोल गरे । साउथह्यामप्टनका लागि मानोलो गाब्बिएडिनीले दुई गोल गरे । खेलमा साउथह्यामप्टनले म्यानचेस्टर युनाइटेडलाई कडा टक्कर दिएको थियो ।
इब्राहिमोविचले १९ औं मिनेटमा फ्रि–किकमार्फत सुन्दर गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा लिंगार्डले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा गाब्बिएडिनीले साउथह्यामप्टनका लागि एक गोल फर्काए । दोस्रो हाफको सुरुमा नै गाब्बिएडिनीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम तीन मिनेट बाँकी हुने बेलासम्म बराबरीमा रहेको खेलमा ८७ औं मिनेटमा इब्राहिमोविचले हेडमार्फत सुन्दर व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए ।
योसँगै युनाइटेडले पाँचौं पटक लिग कपको उपाधि उचाल्यो । यही सिजन युनाइटेडको जिम्मेवारी सम्हालेका जोसे मोरिन्हो क्लबको इतिहासमा पहिलो सिजनमा लिग कपको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।