वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको निधन
भक्तपुर, १६ फागुन । नेवारी र नेपाली साहित्य बिद्याका साथै वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज निधन भएको छ। उपचारको क्रममा आज बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो। क्यान्सरबाट ग्रस्त उनी अस्पतालमा उपचाररत थिए। फागुन ८ गते आइतबार उनी अस्पताल भर्ना भएका थिए।
नेपाली कला क्षेत्रमा रामशेखर चिरपरिचित कलाकार हुन् त्यसमा पनि उपत्यकाभित्रको नेवार समुदायमा उनको नाम सबै माझ परिचित रहेको छ । के बुढा के युवा सबैका प्रिय कलाकार नकर्मीलाई भक्तपुर गल्लीगल्लीका बच्चाबच्चा पनि चिन्छन्। उनको धेरैमध्ये राजमति चर्चित फिल्म हो। मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य निर्मित १५ गते टेलिफिल्ममा रामशेखर शर्मिला मल्लको बुवाको भूमिकामा छन्। साथै चर्चित टेलिचलचित्र लक्ष्मीमा पनि उनको भूमिका छ।
भक्तपुर नगरपालिका वडा नं ६ इनाचोस्थित पुर्ख्यौली घर भुकम्पले भत्किएपछि उनी बृद्धाश्रममा थिए। प्रहसन, नाटक, कथासंग्रह, उपन्यास लेखिरहने उनको कलम जीवनको अन्तिमसमयसम्म पनि चल्दै थियो। राणाविरोधी आन्दोलन भित्रभित्रै चलिरहेको बेला वि.सं. १९९४ माघमा भक्तपुरको इनाचोमा उनको जन्म भएको थियो।
उनले नेपाल भाषामा भजगोविन्द, जनताजनार्दन लगायत दुई दर्जन जति नाटक लेखेका छन्। नसङ्फागु चा, विहानीले चिरेको रात जुन जापानी भाषामासमेत उल्था गरी प्रकाशित भएको छ, नामक उपन्यास र सिमातः फः फः स्व रुखहरु मोडिएका छन् नामक कथासंग्रह उनले लेखेको चर्चित कथासंग्रह हुन्। उनको नसङ्फागु चा ले गंकी–वसुन्धरा पुरस्कार समेत पाएको थियो।
उनले नेपाल भाषाको चलचित्र १२ बजे झोकमनिम्हाः न्हीसुतुु नामक टेलिफिल्मको लेखन तथा निर्देशन पनि गरेका छन्। जुन फिल्मको अहिले पनि भक्तपुरमा वाहवाही चल्छ। उनले धिन्ताल जस्ता तीन दर्जन प्रहसन ख्यालहरू लेखेका छन्। उनले राजमतीको पटकथा भने खोजी अनुसन्धानका साथ कवि दुर्गालाल श्रेष्ठसँग मिलेर लेखेका थिए । ८१ वर्षीय उनका दुई श्रीमती, चार छोरा र चार छोरी छन्। दुवै श्रीमतीको अगाडि नै निधन भइसकको छ।
उनको शव भक्तपुर क्यान्सर अस्पतालबाट हनुमानघाटसम्म शब यात्रा गरि लगिएको छ । हजार्रौ मानिसहरुको शव यात्रामा सहभागि रहेको थियो ।