नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
काठमाडौं, ११ फागुन । राजनीतिक भागबण्डाको आधारमा सदस्यता वितरण रोक्न माग गर्दै पाँचथर र इलामका पत्रकारहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी अनसन सुरु गरेका छन् ।
सिनामंगलस्थित महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा तालाबन्दी गरेर पत्रकारहरु लबदेव ढुंगाना र प्रेम अधिकारी चार बुँदे माग राख्दै अनसन बसेका हुन् । ढुंगाना पाँचथरका र अधिकारी इलामका पत्रकार हुन् ।
चार बुँदे माग
१ नेपाल पत्रकार महासंघमा राजनीतिक भागबण्डाका आधारमा सदस्यता वितरण तत्काल रोकियोस्,
२ नेपाल पत्रकार महासंघका घोषित जिल्ला र प्रतिष्ठान शाखा अधिवेशन तत्काल स्थगित गरियोस् । नक्कली विवाद खडा गरी पाँचथर शाखालगायतमा विधान विपरित शाखा बाहिरबाट केन्द्रमा ल्याइएका नयाँ सदस्यता र नविकरणको कार्य तत्काल फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता नविकरण र स्थान्तरणको अन्तिम टुंगो लगाएपछि मात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोकियोस्,
३ विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी सञ्चालन गरिएका इलाम र ताप्लेजुङका कथित जिल्ला अधिवेशन खारेज गरी केन्द्रीय प्रतिनिधिहरु खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गरियोस्,
४ लामो समयदेखि निस्कृय रहेका राजनीतिक कार्यकर्ता, सरकारी निकायमा स्थायी कर्मचारी र अन्य पेशामा रहेका नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल केन्द्रीय समितिबाट सुरु गरियोस् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा सदस्यता विवाद चुलिएको छ । यसअघि प्रेस युनियनले पनि बिभिन्न माग राख्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।