१० लाखमाथिको कारोबार नगदमा गर्न नपाइने राष्ट्र बैंकको तयारी
काठमाडौं ११ फागुन । नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ भन्दा बढीको कारोबार नगदमा गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । यो व्यवस्था लागू भएपछि १० लाखभन्दा बढीको कारोबार गर्नु परे अनिवार्यरूपमा बैंकबाटै गर्नुपर्ने छ ।
‘हामी नगद कारोबारलाई क्रमश: घटाउँदै लैजाने सोचमा छौं, अब १० लाखसम्मको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था गर्ने तयारी गर्दैछौं,’ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने । गभर्नर नेपालले औपचारिक कारोबारलाई प्रोत्साहन गर्नका लागि पनि यस्तो सीमा क्रमशः घटाएर शुन्यमा झार्ने आफ्नो इच्छा रहेको जानकारी गराए । राष्ट्र बैंकले पछिल्लो पटक नगद कारोबारको सीमा घटाएर ३० लाख रुपैयाँमा झारेको थियो । राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी रणनीति कार्यान्वयन गर्न सकिएमा सरकारको राजस्वमा ५० अर्बले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ ।
‘प्रणालीको सहयोगमा कारोबार सम्भव भएमा यसले पारदर्शिता पनि बढाउँछ, भुक्तानी रणनीति कार्यान्वयनपछि करिब ५० अर्ब रुपैयाँ राजस्व बढ्ने हाम्रो अनुमान छ ,’ गभर्नर नेपालले स्पष्ट पारे । नेपालका अनुसार सन् २०१४ मै यस्तो रणनीति निर्माण भइसकेको हो।