जयबहादुरको भाग्यको फैसला हुने
काठमाडौं ८ फागुन । नेपाल प्रहरीको महानिरीक्षक पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा देखा परेको अन्योलबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा दुईवटा मुद्दा छन् । दुबै मुद्दालाई अदालतले एउटै बेञ्चमा राखेर सुनुवाइ गर्दैछ ।
डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत् रोकेर राखेको छ । त्यसैगरी डीआइजी नवराज सिलवालले बरियताका आधारमा आफूलाई आइजीपी बनाउने आदेश गरीपाउँ भन्दै दर्ता गरेको दोस्रो रिटमाथि पनि आजै छलफल हुँदैछ ।
चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णयलाई अदालतले वैध ठहराएको अवस्थामा आइजीपी नियुक्ति प्रकरण स्वतः समाप्त हुनेछ । किनभने चन्दलाई सरकारले यसअघि नै नियुक्त गरिसकेको छ र उनले फुली लगाउन मात्रै बाँकी छ । तर, चन्दको नियुक्ति बदर भयो भने अदालतले कसलाई कुन प्रक्रियाबाट आइजीपी बनाउने भन्ने व्याख्या गरिदिन सक्छ र त्यसपछि नवराज सिलवाल वा अरु कसैलाई आइजीपी बनाउने बाटो खुल्न सक्छ । मन्त्रिपरिषदले गर्ने निर्णयलाई अदालतले कति प्रभावित पार्छ या पार्दैन भन्ने कुरा फैसलापछि मात्रै भन्न सकिन्छ ।
सरकारले गरेको आइजीपी नियुक्तिसम्बन्धी विषय विवादमा परेपछि प्रहरी अस्पतालका एआइजी दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षको जिम्मेवारी सम्हालिरहेका छन् । सर्वोच्च अदालतले आजै कुनै निर्णय दिन सकेन भने नेपाल प्रहरीभित्रको आइजीपीको अन्यौल अझै केही समय कायम रहन सक्छ । तर, अदालतले कुनै निकास दियो भने सोमबार बस्ने क्याबिनेटले यो अन्यौललाई हटाउन सक्ने देखिन्छ ।