सामुदायिक रेडियो र सरकारबीच सहकार्य हुनुपर्छ : प्रधानमन्त्री

भक्तपुर न्यूज

२ फागुन २०७३ ६:५१

सामुदायिक रेडियो र सरकारबीच सहकार्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबैको सामूहिक संकल्पको आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्री दाहालले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबैले पहल गर्नुपर्ने पनि स्पष्ट पारे ।
छैटौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी छाड्ने प्रतिबद्धता पनि दोहोर्याए । जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको पनि उनले बताए । प्रधानमन्त्री दाहालले हिमाल, पहाड र मधेशलाई एकतावद्ध बनाएर निर्वाचनमा जान सरकार लागि परेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले नागरिकमा सूचनाको पहुँच पुर्याउन र मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सामूहिक रेडियोहरुले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरे । उनले परिवर्तनलाई संस्थागत गर्न पनि सामुदायिक रेडियो र सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले भाषिक र सांस्कृतिक विविधतालाई संरक्षण र संवद्र्धन गरी यसको दिगो विकासका लागि छुट्टै कार्यक्रम ल्याउन सूचना तथा संचार मन्त्रालयलाई निर्देशन पनि दिए ।
कार्यक्रममा सामूदायिक रेडियोहरुले नेपालको भाषा तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिएपनि त्यसमा सरकारले साथ दिन नसकेको भन्दै गुनासो गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *