केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा : भट्टराई
जनकपुर, १ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । संयोजक भट्टराईले मधेशमा देखिएको समस्या सम्बोधन नभएकै कारण मधेशमा सिके राउत प्रवृत्ति हावी भएको र त्यस्तो प्रवृत्तिलाई एमाले अध्यक्ष ओलीले मलजल गरिरहेको आरोप समेत लगाए ।
जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मधेशको माग सम्बोधन नगरी मुलुक निर्वाचनमा गए गम्भीर संकटमा फस्ने चेतावनी पनि दिए ।
उनले मुलुकलाई एकतावद्ध बनाएर लैजान पनि मधेशको माग सम्बोधन गर्नुको विकल्प नरहेको जिकिर गरे । संयोजक भट्टराईले संघीयता कार्यान्वयनमा चुनौति थपिएकाले समस्या समाधानका लागि आफ्नो पार्टीले सहजीकरणको भूमिका निर्वाह गरिरहेको दावी समेत गरे । मधेशको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जान सरकारलाई आफनो पार्टीले सुझाव दिँदै आएको उनको भनाइ छ ।
संयोजक भट्टराईले अतिवादी सोच राख्नेहरुले मधेशमा द्वन्द्व चर्काउँदै लगेको जिकीर पनि गरे ।