उत्तर कोरियाले मिसाइल परीक्षण गर्यो
एजेन्सी, १ फागुन । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइलका बारेमा विस्तृत विवरण प्राप्त नभएको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ मा गरेको यो पहिलो मिसाइल परीक्षण हो । उत्तर कोरियाले गएको वर्ष धेरै आणविक परीक्षण गरेको थियो । गएको जनवरीमा उत्तर कोरियाका नेता किम जोन–उनले आफ्नो देश आणविक हतियारसहितको लामो दूरीमा मार हान्न सक्ने मिसाइल परीक्षणको तयारीमा रहेको बताएका थिए ।
उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल तथा आणविक परीक्षणका कारण कोरिया प्रायद्विपमा तनाव बढ्दै गएको छ । गएको हप्ता दक्षिण कोरिया भ्रमणको क्रममा अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेमा त्यसको गतिलो जवाफ दिइने बताएका छन् ।
उनले अर्को वर्ष दक्षिण कोरियाले मिसाइल सुरक्षा प्रणाली राख्ने अमेरिकाको योजना रहेको पनि बताए । उत्तर कोरियाले गएको वर्ष पाँचौं आणविक परीक्षण गर्दै आफू अमेरिकासम्म मार हान्न सक्षम रहेको दाबी गरेको थियो ।