जयबहादुर चन्द आइजिपीमा नियुक्त, सशस्त्रमा श्रेष्ठ
काठमाडौं, १ फागुन । सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको हो। सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले प्रहरी प्रमुखमा डिआइजी चन्द र सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताए।
वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए। चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन्।
चन्द विसं २०४४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी अनुसन्धानमा दख्खल राख्छन्। गृहमन्त्री बिमलेन्द्र निधिले कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गरेका हुन्। निधि सिलवालको पक्षमा थिए।