कोलम्बिया सरकार र विद्रोही समूह ईएलएनविच शान्ति वार्ता हुदै
जनकपुर, २६ माघ । कोलोम्बियामा सक्रिय बिद्रोही समूह द नेसनल लिवरेशन आर्मी ईएलएन र कोलिम्बिया सरकारबीच शान्तिवार्ता हुने भएको छ । पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ई.एल.एन.सँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको विविसीले जनाएको छ ।
इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तापछि ई.एल.एन. समूह शान्ति प्रक्रियामा फर्कने आशा गरिएको छ । उक्त वार्ता राष्ट्रपति जुआन म्यानुएल सान्तोसको पहलमा हुन लागेको हो । यसअघी राष्ट्रपतिकै नेतृत्वमा बिद्रोही समूह फार्कसँग भएको शान्ति वार्ता सफल हुन चार वर्ष लागेको थियो । ई.एल.एन.ले कोलोम्बियाका पूर्व सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि कोलोम्बियाली सरकारले वार्ता गर्ने निर्णय गरेको हो ।
वार्ताको प्रक्रिया सुरु भएसँगै ई.एल.एन.ले आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई करिब १० महिनापछि मुक्त गरेको छ । सो समूहले कोलम्बियाको कारागारमा रहेका आफ्ना दुई सदस्यलाई मुक्त गरेपछि आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई छाड्ने सर्त पछि वार्ताको वातावरण बनेको हो ।