जर्मनका फिलिप लाहमले गरे सन्यासको घोषणा
एजेन्सी, माघ २६ । जर्मन बुन्डेस लिगा क्लब बार्यन म्युनिखका कप्तान फिलिप लाहमले सन्यासको घोषणा गरेका छन् । लाहमले यो सिजनको अन्त्यमा सबै किसिमका फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
आफ्नो कप्तानीमा सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि दिलाएका लाहमले जर्मन कप अन्तर्गत गएराति भएको खेलमा उल्फबर्गलाई हराएपछि सन्यासको घोषणा गरेका हुन् । यो खेलमा उल्फबर्गलाई १–० ले हराएको बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लाहमले बुन्डेसलिगा लिडर बार्यन म्युनिखबाट अहिलेसम्म पाँच सय एक खेल खेलेका छन् । उनले भने मेरो नेतृत्व स्टाइल म नियमित गर्न सक्छु, हरेक दिन आफ्नो तर्फबाट राम्रो प्रयास गर्न सक्छु, हरेक प्रशिक्षणमा, यो सबै यो सिजनको अन्त्यसम्म । यो सिजनको अन्त्यसम्म मात्रै यस्तो गरिरहन सक्छु, त्यसपछि सक्दिन ।
लाहमले बार्यन म्युनिखसँगको सम्झौता एक वर्ष बाँकी हुँदै सन्यासको घोषणा गरेका हुन् । गएको वर्षदेखि नै यस विषयमा सोचेको र अहिले आएर निर्णयमा पुगेको लाहमले बताएका छन् । बार्यन म्युनिखको युथ टिमबाट आएका लाहमले सन् २००२ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
१५ वर्षको सिनियर करिअरमा उनले बार्यन म्युनिखबाट सात पटक बुन्डेस लिगाको उपाधि जितेका छन् । यस्तै एक पटक जर्मन कप तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । जर्मनीका लागि एक सय १३ खेल खेलका उनले सन् २०१४ मा आफ्नो नेतृत्वमा विश्वकपको उपाधि दिलाए ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।