पिछडावर्ग भक्तपुरमा ठाकुर अध्यक्ष निर्वाचित
भक्तपुर, २५ माघ । नेपाल पिछडावर्ग महासंघ भक्तपुरको अध्यक्षमा जितन्द्र ठाकुर निर्वाचित भएका छन् । भक्तपुरको रफत सञ्चार क्लवमा मंगलबार भएको चौथो जिल्ला अधिवेशनले ठाकुरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचीत गरेको हो ।
त्यसैगरी महासंघको उपाध्यक्षमा प्रभादेवी, सिकेन्दा यादव, अजय ठाकुर, रमाकान्त पण्डित, सुनौली देवी ठाकुर, कोसिला देवी, लक्ष्मण ठाकुर, एकलास देवी निर्वाचित भएका छन् ।
महासंघको अधिवेशन नेपाल पिछडावर्ग महासंघ( ओविसी) का केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले उद्घाटन गरेका थिए । उनले उद्घाटनको अवसरमा बोल्दै पिछडावर्गको हक हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको बताए । उनले राज्यले पिछडावर्गलाई हेला गरेको र अगाडि बढाउन पहल नगरेको गुनासो गरे । सरकारले आरक्षण नदिएकोसमेत उनले बताए । उनले संविधान घोषणा भएर पनि केहि काम नगरेको र संविधानले कुनै अधिकार नदिएको बताए । मधेशवादी दलले मधेशी जनताको नाममा मागी खाने काम गरेको उनले बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय महासचिव विन्ध्यश्वरीराज ठाकुरलगायतले सरकारले पिछडावर्गले राखेको ११ बुँदे माग सम्झौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै गुनासो गरेका थिए ।