ट्रम्पलाई संसदमा बोल्न नदिने पक्षमा बेलायती सभामुख

भक्तपुर न्यूज

२५ माघ २०७३ १०:१०

ट्रम्पलाई संसदमा बोल्न नदिने पक्षमा बेलायती सभामुख

एजेन्सी, २५ माघ । बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख जोन ब्रेकाउले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको भ्रमणताका संसदमा बोल्न नदिने पक्षमा आफू रहेको बताएका छन् । ब्रेकाउले आफू ट्रम्पको जातीय र लैंगिक विभेदको नीतिका विरुद्धमा रहेकाले राजकीय भ्रमणका क्रममा उनलाई हाउस अफ कमन्समा बोल्न निम्तो नदिने बताएका हुन् ।
संसदमा बोल्ने कुरा राजकीय भ्रमणमा आउनेको अधिकार होइन यो आर्जन गर्नुपर्ने सम्मान हो, ब्रेकाउले भने, आप्रवासीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणापछि उनलाई संसदमा बोल्न नदिने पक्षमा म दृढ भएको छु । ब्रेकाउले सन् २०१२ मा पूर्वराष्ट्रपति बाराक ओबामाले सम्बोधन गरेको वेस्टमिनिस्टरको हलमा ट्रम्पलाई पनि सम्बोधन गर्न दिने पक्षमा आफू नभएको स्पष्ट पारेका छन् । ब्रेकाउको भनाइ सार्वजनिक भएपछि केही सांसदले उनको समर्थन गरेका छन् भने केहीले ट्रम्पले संसदमा सम्बोधन गर्ने/नगर्ने टुंगो नलाग्दै उनले दिएको अभिव्यक्ति हतारमा आएको बताएका छन् । ह्वाइटहाउसले ट्रम्पले बेलायती संसदमा सम्बोधन गर्ने/नगर्नेबारे अहिलेसम्म केही खुलाएको छैन ।
बेलायतको राजकीय भ्रमण गर्ने सबै नेताले संसदलाई सम्बोधन गर्ने चलन छैन । यसअघि पोप, नेल्सन मन्डेला, बाराक ओबामाले वेस्टमिनिस्टर हलमा सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोयल ग्यालरीमा सम्बोधन गरेका थिए ।
ट्रम्पले राष्ट्रपतिको सपथ लिएको केही दिनपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले अमेरिकाको भ्रमण गरेकी थिइन् । उनले ट्रम्पलाई बेलायतको राजकीय भ्रमणका लागि निम्तो दिएकी हुन् । ट्रम्पको बेलायत भ्रमणको मिति भने सार्वजनिक भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *