भोलिदेखि ख्वपमा तीनदिने शैक्षिक प्रदर्शनी हुने
भक्तपुर, २४ माघ । भोलिदेखि ख्वपमा तीनदिने बृहत् शैक्षिक प्रदर्शनी हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयको १७ औं, ख्वप कलेजको १५ औं र शारदा क्याम्पसको २६ औं वार्षिकोत्सवको अवसरमा उक्त शैक्षिक प्रदर्शनी हुन लागेको हो ।
विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, समाज, इतिहास, भूगोल, कला र संस्कृति, पर्यटनलगायतको विकासबाट देशको समग्र विकासमा खेल्ने भूमिकाबारे जानकारी दिन गरिने सो प्रदर्शनी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ख्वप उमाविका प्राचार्य एवं कार्यक्रमका सह संयोजक प्रकाशकुमार श्रेष्ठले प्रदर्शनी माघ २५, २६ र २७ गते हुने जानकारी दिए ।
विज्ञान, प्रविधि, व्यवस्थापन र सामाजिक ज्ञानबीचको अन्तरसम्बन्धबारे प्रकाश पार्न तथा नयाँ पुस्तालाई देश, जनता र समाजप्रति जिम्मेबार बनाउने उद्देश्यले शैक्षिक प्रदर्शनी गरिँदै आएको बताउँदै उनले प्रदर्शनीमा विज्ञान, व्यवस्थापन र मानविकी र शिक्षा संकायलगायतका एकसय पचासभन्दा बढी स्टल रहने जनाए ।
प्रदर्शनीमा दस जोड दुई, स्नातक र स्नातकोत्तर तह सञ्चालन गरिरहेको कलेजको सा प्रदर्शनीमा विज्ञानका ८४, व्यवस्थापनका ४२, शिक्षाका १५ र मानविकीका २२ वटा स्टल रहने छ ।
जैविक विविधताको संरक्षण, कृषि, विज्ञान तथा प्रविधि, हरित ऊर्जा, सूचना, सञ्चार तथा यातायात, सामुदायिक स्वास्थ्य, वातावरण संरक्षण, गणितीय मोडललगायतका विषयमा प्रदर्शनी केन्द्रित रहने कलेजको भनाइ छ ।
विशेषतः माध्यमिक तहका विद्यार्थीहरुलाई केन्द्रित गरिएको उक्त प्रदर्शनीमा उपत्यकासहित काभ्रेका करि १ सय ३५ विद्यालयका एकहजार, अभिभावक तथा शिक्षाका सरोकारवालाहरु गरेर करिब १५ हजारले प्रदर्शनीमा सहभागिता जनाउने आयोजकको भनाइ छ ।
प्रदर्शनीमा उत्कृष्ट प्रदर्शनी गर्ने स्टललाई पुरस्कृत समेत गरिने भएको छ । कलेजले त्यस्तो खालको प्रदर्शनी २०६५ सालबाट गर्न थालेको हो ।