चीनमा भवन भत्किँदा सातको मृत्यु
एजेन्सी, २१ माघ । चीनको पूर्वी प्रान्त जेजीआङ्गमा अवस्थित एक आवासिय भवन भत्किँएर भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस घटनाबाट दुई महिलालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । एक ६३ बर्षीया महिलालाई स्थानीय समयानुसार हिजो राति १०ः४० बजे र अर्का एक महिलालाई आज बिहान ७ बजे सो भवनको भग्नावशेषबाट उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यी दुवैलाई उपचारको लागि नजिकको अस्पतालमा लगिएको बताइएको छ ।
वेनचेङ्ग काउन्टीको दहुई गाउँमा रहेको पाँच तले आवासिय भवन भत्किएको थियो । दुई वटा परिवारका नौ व्यक्ति बसोवास गर्दै आएका उक्त आवासिय भवन स्थानीय समयाअनुसार बिहीबार बिहान आठ बजे भत्किँएको थियो ।
सो भत्किएको भवननजिकै आवासिय इलाकामा बसोवास गर्दै आएका ५८ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।