लामपार्डद्वारा सन्यासको घोषणा
एजेन्सी, २१ माघ । इंग्ल्याण्डका पूर्व मिडफिल्डर फ्याङ्क लामपार्डले सन्यास लिएका छन् । इंग्लिस क्लब चेल्सीका पूर्व चर्चित मिडफिल्डरसमेत रहेका लामपार्डले २१ वर्षको व्यवसायिक फुटबल यात्रा सन्यास लिएका हुन् ।
३८ वर्षका लामपार्ड गएको वर्ष अमेरिकाको फुटबल क्लब न्यू योर्क सिटीका लागि खेलेका थिए । उनले सामाजिक सञ्जालमार्फत हिजो आफ्नो सन्यासको घोषणा गरेका हुन् । लामपार्डले चेल्सीका लागि ६ सय ४९ र इंग्ल्याण्ड राष्ट्रिय टिमबाट १ सय ६ खेल खेलेका छन् ।
खेल जारी राख्नका लागि मैले धेरै राम्रा अवसरहरु पाइरहेको छु, तर ३८ वर्षको पुगेँ । मैले जीवनलाई नयाँ ढंगले अगाडि बढाउने समय आएको उनले बताए । उनले फुटबलमा प्रशिक्षकको रुपमा अगाडी बढ्नेतर्फ पनि संकेत गरेका छन् । उनले २०१४ मा म्यानचेस्टर सिटीबाट पनि खेलेका थिए ।
लामपार्ड सन् २००१ मा वेस्ट हामबाट चेल्सीमा गएका थिए । चेल्सीमा रहँदा उनले गरेको २ सय ११ गोलको मद्दतले चेल्सीले च्याम्पियन्स लिग, तीनवटा प्रिमियर लिग, चारवटा एफए कप, दुईवटा लिग कप र एकपटक युरोपा लिग जितेको थियो ।