आजदेखि गाविस सचिव आन्दोलनमा
काठमाडौं, २० माघ । भत्ता नपाएको भन्दै देशभरिका गाविस सचिवले काम बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ । गाविस सचिवको आन्दोलनका कारण सेवाग्राहीलाई भने सास्ती भएको हो ।
धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुगेका सेवाग्राहीलाई समस्या भएको हो । कतिपय जिल्लामा गाविस सचिवले आफ्नो कार्यालयको ताला जिल्ला विकास समितिको कार्यालयमा बुझाएका छन् ।
माग पूरा गर्न दिएको समयभित्र सरकारले वास्ता नगरेकाले आजदेखि सबै काम रोकिएको गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए ।
केन्द्रले अर्थ मन्त्रालयले रोकेको प्रोत्साहन भत्ता तत्काल पाउनुपर्ने, गाउँपालिका–नगरपालिका पुनसंरचान गर्दा कर्मचारी व्यवस्थापनमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवा बन्द गर्न नहुने स्थानीय निकायको चुनाव हुनुपर्ने गरि पाँचबुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको थियो । तर सरकारले माग पूरा गर्न चासो नदेखाएपछि काम बन्द गरेको उनीहरुको दाबी छ ।