वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन वाइसिएललाई ब्यूँझन आग्रह गरेका छन् । उनले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएलका नेता कार्यकर्तालाई आह्वान गरेका हुन् ।
वाइसिएल नेपालद्वारा राजधानीमा आयोजित एकता भेलालाई सम्बोधन गर्दै उनले भने, केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहिरहेका छन्, मुलुकमा दक्षिणपन्थी हावा चल्न थालेको छ, तपाई युवाहरु अब निन्द्राबाट ब्यूँझनुहोस् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भने, ७० वर्षको क्रान्ति र त्यसका उपलब्धिहरुलाई उल्टाउने प्रयास भइरहेको छ । उनले आफूलाई क्रान्तिकारी भन्ने र झण्डा र चुनाव चिन्ह पनि त्यस्तै भएका दलहरुले नै देशमा दक्षिणपन्थी हावा चलाउन खोजेको आरोप लगाए ।
वाइसिएललाई विगतमा जाली र फटाहाका लागि आतंक र जनताको लागि भरोसा बनेको भन्दै उनले पुनः एकपटक ब्युँझिएर दक्षिणपन्थको विरुद्ध जाग्न उनले निर्देशन दिए ।