नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित
काठमाडौं, १८ माघ । नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ४४ रनको लक्ष्य अष्ट्रेलियाले १२ ओभर ४ बलमा पूरा गरेको हो ।
एक ओभरमा ११ दशमलव ४५ रनको औषतमा रन बनाएको अष्ट्रेलियासामु नेपाली बलर कमजोर देखिए । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
नेपालका सुनिल क्षेत्रीले ३४, किर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ र सुनिल थापाले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ३८ रन अतिरिक्त पाएको थियो ।
अष्ट्रेलिया बलियो टिम भए पनि नेपालले कडा टक्कर दिने नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले बताएका थिए । तर उनले भनेजस्तो खेल प्रदर्शन हुन भने सकेन । अष्ट्रेलियाका लागि स्टेफन लियो पालमरले ३९ बलमा ४८ तथा म्याथ्यु जेम्स क्यामरुनले ४३ बलमा ६८ रन बनाए ।
यसअघि सन् २०१२ मा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ७ विकेटले हारेको थियो ।