दलित समुदायको समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशिल छ : प्रधानमन्त्री
काठमाडौ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायको राजनीतिक, सामाजिक तथा सांँस्कृतिक समस्या समाधानका लागि पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको बताएका छन् ।
उनले जात, वर्ण र लिङ्गका आधारमा हुने विभेद सरकारका लागि सह्य नहुने बताए । बालुवाटारस्थित सरकारी निवासमा आज राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
उनले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको भन्दै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पारिने जानकारी दिए ।
लक्ष्मी परियार र अजित मिजारको हत्यामा प्रकरण छानबिनका लागि युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको जानकारी गराउदै उनले समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने बताए ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परियार र मिजारका हत्यारामाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन तथा दलित विकास समिति खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा दलितमाथि भएको विभेद अन्त्यका लागि कडा कानुनको आवश्यक रहेको सुझाव दिइएको छ ।