लेखा समिति सभापतिमा कांग्रेस-माओवादीका संयुक्त उम्मेद्वार उपाध्याय विजयी
काठमाडौं, १७ माघ । ब्यवस्थापिका–संसद लेखा समिति सभापतिमा कांग्रेस–माओवादी केन्द्रका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय विजयी भएका छन । माओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री भएपछि लामो समयदेखि रिक्त रहेको समिति सभापति पदका लागि भएको निर्वाचनमा कूल ३९ मत खसेकोमा उपाध्यायले २३ मत पाई विजयी हुनु भएको हो । उनका प्रतिद्वन्द्वी एमालेका पशुपति चौलागाईले १६ मत ल्याएका थिए।
एमाले उम्मेद्वार चौलगाईंको प्रस्तावकमा शत्रुधन महतो रहेका थिए भने समर्थकमा एमालेकै राधकृष्ण कँडेल थिए । उपाध्यायको प्रस्तावकमा नेपाली कांग्रेसका रामहरि खतिवडा र समर्थकमा माओवादीका टेकबहादुर बस्नेत थिए।
कपिलवस्तुको गजेहडाका उपाध्याय समानुपातिक सांसद हुन् । ५१ सदस्यीय लेखा समितिमा नेपाली कांग्रेस र एमालेका १५/१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ तथा राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन् । राप्रपाका दिनेश श्रेष्ठ र भाष्कर भद्राले सत्तारुढ गठबन्धनको विपक्षमा मतदान गरेका थिए ।