सरकार र मधेसी मोर्चाबीचको बैठक निश्कर्षविहीन
काठमाडौं, १७ माघ । मधेसी मोर्चासहित सत्तारुढ दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । चुनावको मिति घोषणा गर्ने लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा मधेसी मोर्चा आफ्नो पुर्ववत अडानबाट पछि नहटेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।
सरकारले संविधान संशोधन छाडेर निर्वाचन गर्ने तयारी गरेको भन्दै आन्दोलनको घोषणा गरेको मोर्चालाई मनाउन प्रधानमन्त्री दाहालले आज मोर्चालाई बार्तामा बोलाएका थिए । वार्तामा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल भए पनि कुनै निश्कर्ष ननिस्किएको नेताहरुले बताए ।
सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले सरकार सहमतिमै अघि बढ्न चाहेको भन्दै मोर्चालाई लचकता अपनाएर अघि बढ्न आग्रह गरेका थिए । निर्वाचनमा सहमति जनाउन पनि दाहालले मोर्चालाई आग्रह गरेका थिए । तर मोर्चाका नेताहरुले भने संशोधन नभई निर्वाचनमा जानै नसकिने अडान लिएका थिए । मोर्चाकै अडानका कारण वैठक बिनानिष्कर्ष टुंगिएको बैठकमा सहभागी नेताहरुले बताए ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।